भाद्र १८, २०७२- क्यानडियन–फ्रेन्च गायिका एभ्रिल लाभिनको पति चाड क्रोएगरसँगको दुई वर्षे वैवाहिक जीवन टुंगिएको छ । पतिबाट अलग रहने निश्चित भएपछि एभ्रिलले उक्त कुराको जानकारी इन्स्टाग्राम पोस्टमार्फत् दिएकी थिइन् ।
‘मन गह्रुंगो पारेर भन्दै छु कि चाड र मैले आजदेखि अलग रहने घोषणा गरेका छौं । र, सधैं एकअर्कालाई एकदम नजिकबाट केयर पनि गरिरहने छौं,’ एभ्रिलले चाडसँगको एक रोमान्टिक फोटो सेयर गर्दै त्यसको क्याप्सनमा लेखेकी छन्, ‘केवल वैवाहिक सम्बन्धमा मात्रै नभई सांगीतिक क्षेत्रमा पनि हामी दुईले धेरै अविस्मरणीय क्षण बिताएका छौं ।’ उनले चाड पति नरहे पनि बेस्टफ्रेन्ड भने सधैं रहने जिकिर गरेकी छन् । सम्बन्धविच्छेदको असहज परिस्थितिमा पनि उनले आफ्ना फ्यान, साथीभाइ र पारिवारिक सदस्यको सहयोगका लागि धन्यवाद पनि दिन भ्याएकी छन् ।
क्यानडेली रक ब्यान्ड ‘निकलब्याक’ का लिड भोकलिस्ट चाडसँग एभ्रिलले सन् २०१२ को मध्यदेखि डेटिङ सुरु गरेकी थिइन् । त्यसअघि एभ्रिलको पाँचौं एल्बमको तयारीका क्रममा गीत लेख्ने र रेकर्ड गर्ने क्रममा यी दुईको सम्बन्धमा अंकुरण लागेको थियो । डेटिङ थालेको एक महिनामै दुईले इन्गेजमेन्ट गरेका थिए । विवाह भने ठीक एक वर्षपछि सन् २०१३ को जुलाईमा क्यानाडा दिवसको अवसर पारेर गरे । दुईबीच १० वर्षको ग्याप थियो । एभ्रिल पछिल्लो समय लागुऔषध दुव्र्यसनीको चपेटामा परेको खबर छ्यापछ्याप्ती भएको थियो । तर उनले भने खबरलाई इन्कार गर्दै आएकी थिइन् । बरु ट्वीटरमै उनले आफ्नी एक साथीलाई आफू कुनै अज्ञात रोगको सिकार भइरहेको गुनासो पोखेकी थिइन् । पछि चिकित्सकले पनि ब्याक्टेरियाको इन्फेक्सनबाट हुने एक रोगको पुष्टि गरेका थिए । पछि रोगबाट मुक्ति पाएपछि उनी पछिल्लो समय गत महिना स्टेजमा देखिएकी थिइन् ।
विवाहको पहिलो वर्ष दुईबीच सम्बन्ध घनिष्ट देखिएको थियो । एकाएक आएको विच्छेदको खबर धेरैका लागि भने अप्रत्यासित बनेको थियो । यति बेला भने चाड बिरामी भएका कारण उनको ब्यान्डले नै यस वर्षको म्युजिकल टुर रद्द गर्नुपरेको थियो । गायकको भोकल कर्डमा समस्या आएपछि डाक्टरले आराम गर्न सल्लाह दिएका थिए ।
एभ्रिलको चाडसँग दोस्रो विवाह हो । यसअघि उनले अर्को ब्यान्ड ‘सम ४१’ का लिड भोकलिस्ट डेरिक विब्लेसँग विवाह गरेकी थिइन् । जोसँगको सम्बन्ध सन् २००९ मै टुंगिएको थियो ।