भाद्र १५, २०७२- दिल्लीको एक अदालतले फिल्म निर्माता–निर्देशक रामगोपाल वर्मालाई ‘शोले’ फिल्मको रिमेक बनाएकोमा १० लाख रुपैयाँ जरिवाना तोकेको छ । सन् १९७५ मा आएको चर्चित फिल्म ‘शोले’का निर्माताका नातीले वर्माले प्रतिलिपी अधिकार उल्लंघन गर्दै यो फिल्म बनाएको र ओरिजिनललाई बिगारेको भन्दै मुद्दा दायर गरेका थिए ।
२००७ मा वर्माले शोलेकै जस्तो कथा लिएर ‘रामगोपाल वर्माकी आग’ नामक फिल्म बनाएका थिए । यसलाई वर्माले ‘एडप्टेसन’ भनेका थिए । तर, अदालतले रिमेक नै मानेर उनलाई जरिवाना गरेको हो ।
अमिताभ बच्चन, अजय देवगन, मोहनलाल, सुस्मिता सेन लगायतले अभिनय गरेको यो फिल्मलाई समीक्षकहरुले शताब्दिकै झुर फिल्मको संज्ञा दिएका थिए ।