27 C
Kathmandu
Sunday, February 28, 2021
2021 Feb 28, Sunday 06:42

TRENDING .

श्रीकृष्णको वियोगमा श्वेताको एक वर्ष यसरी सुनाइन् श्वेताले हनिमुनदेखि अस्पतालसम्मको घटना

- Advertisement -

चिरञ्जीवी पौडेल
दरबारमार्गस्थित राइजिङ मलमा एक मध्यान्न श्वेता खड्कासित भेट भयो । उनले दोस्रो तल्लामा रहेको कफी सपमा बोलाएकी थिइन् ।

‘यो मलको इन्टरियर डिजाइन मेरो कम्पनीले गरेको हो,’ कफी अर्डर गरिसकेपछि उनले सुनाइन्, ‘यो कफीसप पनि मेरै हो । अचेल कहिलेकाहीँ आउँछु ।’

राइजिङ मललगायत थुप्रै कर्मर्सियल हाउसहरुको इन्टरियर डिजाइन गरेकी श्वेता अहिले आफ्नै जीवनको ‘इन्टरियर डिजाइन’ मिलाउन संघर्षरत छिन् ।

एक वर्षअघि पति श्रीकृष्ण श्रेष्ठको वियोगपछि जो भताभुंग भएको थियो । पीडाका बादलहरु पन्छाएर बिस्तारै उघि्रँदै गरेकी उनको अनुहारमा मुस्कान यदाकदा देखिन थालेको छ, जुन मानौं सदियौंदेखि हराइरहेको थियो । तर अझै पनि, यिनी पहिलेकी श्वेता होइनन् ।

एक वर्ष एक युगजस्तो

‘मैले यस्तो जिन्दगीको कल्पनासम्म गरेकी थिइँन्,’ कालो चश्मा लगाएकी श्वेता सँभवतः भुईंतिर हेर्दै बोलिरहेकी छिन्, ‘म पहिले महत्वाकांक्षी थिएँ । भविष्यको योजना बुनेर बस्थें । मेरो जीवन मेरै मुठ्ठीमा छ भन्ने लाग्थ्यो । तर, आज भविष्यप्रति बैराग मात्रै लाग्छ । भविष्य भन्ने शब्दमै विश्वास टुटेको छ ।’

पछिल्लो एक वर्ष उनलाई कष्टकर रुपमा लामो अनुभव भएको छ । वियोगान्त चलचित्रको लम्बेतान क्लाइमेक्स जस्तो । यो एक वर्षमा उनलाई एक युग बाँचे जस्तो लागेको छ ।

जीवनकै पीडादायी समयलाई यसरी वर्णन गर्छिन्, ‘खै, कसरी बर्णन गरुँ । मेरा लागि त समय बिताउनु नै सबैभन्दा ठूलो काम थियो । दिन अति लामो लाग्थ्यो, रात त्योभन्दा लामो लाग्थ्यो । दिनहरु गुजार्न जति गाह्रो थियो, त्योभन्दा गाह्रो थियो रातहरु गुजार्न । कति लामो सास फेरेँ, कति सुस्केरा हालेँ, कति छट्पटिएँ, कहालिएँ, रोएँ, चिच्याएँ, कुनै हिसाब छैन । जसरी-तसरी बाँचे । कसरी बाँचे, कसरी उठेँ आज छक्क पर्छु ।’

६ महिनासम्म त श्वेता ओछ्यानमै मुढोजसरी लडिरहिन् । उनलाई आमाले बाथटवमा राखेर नुहाइदिन्थिन् । बहिनीले खाना खुवाउँथिन्, गोडा धोइदिन्थिन् । उनी फेरि एकचोटि नाबालक बनेकी थिइन् । ती कुराहरु कति उनलाई याद छन्, कति छैनन् ।

‘म बौलाहीजस्तै भएकी रहेछु । आज आमाले भन्नुहुन्छ, मलाई बेलाबेला खोई केले छोपेझैं हुन्थ्यो रे । मेरा अगाडि कसैले शिशाको भाँडाकुँडा राख्दैनथ्यो । कतिपटक चियाको गिलास घोप्ट्याएँछु, कतिपटक मोबाइल झटारो हानेछु । अहिले मलाई केही याद छैन ।’

सपनामा आए रे श्रीकृष्ण

shree krishna first death anniversary

लामो समयसम्म ओछ्यानमा लडिरहँदा तीन महिनापछि उनलाई ‘ब्याक पेन’ सुरु भयो । खाना नखाएर पाचन प्रणाली कमजोर हुन थाल्यो । उनी शरीर र मन दुबैकी रोगी बनिन् ।

‘कहिलेकाहीँ ऐनामा आफूलाई हेर्थेँ, आफ्नै अनुहार देखेर डर लाग्थ्यो । मै हुँ र ? जस्तो लाग्थ्यो,’ उनी भन्छिन् ।

परिवारले उनलाई डाक्टरकहाँ पुर्‍याए । डाक्टरले एक फाँको औषधी लेखिदिए । तर, उनले औषधि खान सकिनन् । घाँटीबाटै गएन ।

एक रात, करिब एक बजे उनी एक्लै छतमा उक्लिन् । त्यो जूनेली रातमा उनी धेरैबेरसम्म एक्लै बर्बराइन्, चिच्याइन्- मलाई यहाँ एक्लै नछाड्नुस, हजुरसँगै लैजानुस् । म यो औषधि खाँदिन । खाँदै खाँदिन ।

‘त्यही रात मैले उहाँलाई सपनामा देखेँ । उहाँले मलाई भन्नुभयो- म अहिले इन्डियामा छु । प्लिज तिमी औषधी खाइदेऊ । सबै ठीक हुन्छ । त्यसपछि मैले औषधी खान थालेँ । मेरो होश बिस्तारै खुल्दै गयो । तर, जब होस खुल्न थाल्यो, झन् मलाई गाह्रो भयो ।’

फेसबुकमा साथीभाइ र आफन्तहरुको फोटो हेर्थिन् । सबैजना हाँसीखुशी देख्थिन् । सोच्थिन्, ‘हे भगवान, मलाई मात्रै किन यस्तो ?’

उनको मनमा खाली नकारात्मक सोचाइहरु आउँथे । ‘किन बाँच्ने जस्तो लाग्थ्यो । परिवारले एकछिन मात्रै एक्लै छाडेको भए सायद म बाँच्दिनथेँ,’ उनी भन्छिन् ।

श्रीकृष्ण मृत्यु हुँदा उनले निर्माणमा गरेको फिल्म कोहिनुर देशभर चलिरहेको थियोे । फिल्म हेर्न हलहरुमा मानव सागर नै उर्लियो । श्वेतालाई सहानुभूति होला भनेर धेरैले फिल्मको सफलताका बारेमा चर्चा गर्थे । तर, उनी खुशी हुनुको साटो झन् रुन्थिन् ।

‘मान्छेको जीवनमा हाँसो र आँशु एकैसाथ हुन सक्दैन रहेछ । त्यसैले यस्तो खुशीको अवसरमा पनि म रमाउन सकिँन । जति कोहिनुरको बारेमा कुरा सुन्थेँ, त्यति भावुक हुन्थेँ,’ उनी भन्छिन् ।
अमेरिकामा तीन महिना

अमेरिकाबाट फर्केका श्वेताका नृत्यगुरु बसन्त श्रेष्ठ उनलाई हेर्न आएका थिए । एकातिर ब्याकपेन र अर्कोतिर डिप्रेसनले सताइएकी थिइन् उनी । बसन्तले उनलाई भने, ‘यसरी सँधै ओछ्यानमा लडेर हुँदैन । एकपटक अमेरिका जाउँ, स्वास्थ्यको पनि राम्रो उपचार हुन्छ । नयाँ ठाउँ घुमफिर गर्दा मन पनि बहलिन्छ ।’

उनको परिवारले पनि सहमति जनाएपछि श्वेता तयार भइन् । कोहिनुर फिल्मसमेत लिएर श्रेष्ठ दम्पत्तिसँगै श्वेता अमेरिका गइन् । श्वेता के गइन्, उनको शरीर गयो !

अमेरिकाका आठ ठाउँमा कोहिनुरको प्रदर्शन सम्पन्न भयो । फिल्म हेर्नभन्दा श्वेतालाई भेट्नका लागि नेपालीहरु ओइरिन्थे । सहानुभूति दिन्थे र हौसला बढाउँथे । हाँस्न आग्रह गर्थे ।
श्वेता आफैंले पहिलोपटक कोहिनुर फिल्म अमेरिकामै हेरिन् । फिल्मको एउटा दृश्यमा उनी धेरै रोइन् । भारतको विमानस्थलमा श्रीकृष्णले श्वेतालाई छाड्न आएको दृश्य फिल्ममा छ । श्वेता एक्लै जान मानिरहेकी हुन्नन् । श्रीकृष्णले उनलाई सम्झाउँछन्, ‘तिमी यसरी कमजोर भएर हुन्न, तिमी त हिम्मतिली केटी हौ ।’

‘वास्तविक जीवनमा पनि मलाई सँधैं यसरी नै सम्झाउनुहुन्थ्यो । तिमी गृहणी भएर घरधन्दा गरेर बस्नुहुँदैन, हाम्रो बिजनेस सम्हाल्नुपर्छ तिमीले भन्नुहुन्थ्यो,’ उनी सम्झिन्छिन् ।

‘तिमीलाई भाइले बोलाएको छ’ भनेर दाइले उठाउनुभयो । दाइको सहारामा भित्र गएँ । तर, त्यहाँ उहाँलाई पाइनँ । त्यहाँ केवल उहाँको मृत शरीर थियो

अमेरिकामा बसन्तले श्वेतालाई डाक्टरकहाँ लगे । डाक्टरले उनलाई डिप्रेसनको औषधिका साथै मनोपरामर्श पनि दिए । बिस्तारै रातमा निद्रा लाग्न थाल्यो । जति धेरै निदाइन्, त्यति धेरै होसमा आइन् ।

फोटो हेर्दा आघात

अझै पनि उनी पूर्णरुपमा सम्हालिएकी छैनन् । बेलाबेलामा मुटु चिरिएझैं हुने उनी बताउँछिन् । नियालेर श्रीकृष्णको फोटो तथा भिडियो हेर्न सक्दिनन् अहिले पनि ।

‘झल्याकझुलुक हेर्दा केही हुन्न,’ उनी भन्छिन्, ‘तर ध्यान दिएर हेर्न खोज्यो भने आघात पर्छ ।’ अमेरिकामा एकचोटि राति सुत्नेबेला हिम्मत गरेर यूट्वमा श्रीकृष्णको भिडियो हेरेकी थिइन् । त्यो रात उनी निदाउनै सकिनन् । त्यसको ३ दिनसम्म बिरामी नै परिन् ।

श्वेता बिस्तारै आफ्नो रुटिनमा फर्किन संघर्षरत छिन् । पुरानो व्यवसायहरुलाई ह्याण्डल गर्ने प्रयास गर्दै छिन् । अचेल उनी प्रायः माइतीमा बस्छिन् । कहिलेकाहीँ घर जान्छिन् । माइती उनलाई घर र घर चाहिँ माइती जस्तो भएको छ ।

उनको शारीरिक स्वास्थ्यमा पनि सुधार आइरहेको छ । दैनिक एक घन्टा ‘मर्निङ वाक’ गर्छिन् । औषधी सेवन र थेरापी पनि जारी छ । डाक्टरको सल्लाहअनुसार उनले खानेकुरामा धेरै ‘परहेज’ गरिरहेकी छिन् । तीन महिनादेखि भात खाएकी छैनन् । गुलियो चिज र दूधका परिकार पनि खानु हुँदैन उनले ।

श्वेतालाई म्यासेजहरु धेरै आउँछन् । फेसबुकको कमेन्टले क्षणिकरुपमा भए पनि आनन्द दिन्छ । अहिले उनको इन्बक्समा हजारौं म्यासेज थुप्रिएका छन् । कति हेर्छिन्, कति हेर्दिनन् । अहिलेको अवस्थामा आउनुमा डाक्टरको ओखतीको जति हात छ, त्यति नै शुभचिन्तकको माया छ भन्ने उनलाई लाग्छ ।

‘मलाई सबैभन्दा ठूलो ओखती त मेरा शुभचिन्तकहरुको माया पो रहेछ,’ उनी भन्छिन् ।

खाना रुच्छ, तर केही खान हुँदैन । पेटमा इम्युन सिस्टम कमजोर भएकाले । कार्वोहाइड्रेड भएको खानेकुरा, गुलियो, डेरी आइटम खानु हुँदैन । भात खानु हुँदैन । भात नखाएको तीन महिना भयो । रोटी र फलफूलहरु मात्रै खान्छिन् ।

अबको योजना ?

श्वेता फेरि काममा फर्किन चाहन्छिन् । फिल्म उद्योगमा फर्किन चाहन्छिन् । तर कहिले ? यसको जवाफ दिन सक्दिनन् ।

‘मलाई थाहा छैन, म कहिलेसम्म शारीरिकरुपमा फिट हुन सक्छु, अनि मानसिक रुपमा पनि तयार हुन्छु’ उनी भन्छिन्, ‘अहिलेका लागि यो एउटा इच्छा मात्रै हो ।’

फिल्ममा फर्किँदा फेरि हिरोइनकै रुपमा नहुन सक्ने पनि उनको भनाइ छ । त्यसो त यो बीचमा उनलाई अफरहरु नआएका होइनन् । करिब आधा दर्जन निर्देशकहरु हिरोइन बनिदिनुपर्‍यो भन्दै उनीकहाँ स्त्रिmप्ट बोकेर पुगे, उनले विनम्रतापूर्वक अस्वीकार गरिन् ।

‘मलाई १० लाख पारिश्रमिकको अफर पनि आयो । तर, मैले उहाँहरुले ल्याएको स्त्रिmप्ट पल्टाएर हेर्न पनि सकिनँ,’ श्वेताले सुनाइन् । उनले अब नाचगानवाला ग्ल्यामरस हिरोइनको भूमिकामा खेल्ने न रहर छ न जाँगर । महिलाप्रधान र सन्देशमूलक फिल्मको अफर आयो भने सोच्ने छु ।

तत्काललाई भने उनी आफ्ना पुरानो बिजनेसहरुमै व्यस्त रहनेछिन् । अफिसियल मिटिङहरुमा जान थालेकी छिन् । ‘बिजनेस डिल’ हरुमा सहभागी हुन थालेकी छिन् ।

विवाह ?

‘प्लिज यो प्रश्नमा प्रवेशै नगरौं,’ श्वेता सुरुमै पन्छिइन्, ‘मेरो दिमागमै छैन यो कुरा ।’

यद्यपि, श्रीकृष्णमाथि लेखिएको किताबमा श्वेतालाई उद्वृत गर्दै लेखिएको छ, ‘जीवनमा अब अर्को विवाह नगर्ने प्रण गर्छु ।’ यस विषयमा उनले कुनै प्रष्टीकरण पनि दिन चाहिनन् । कोट्याई-कोट्याई सोध्ने जमर्को पनि गरिएन ।

श्रीकृष्णका अन्तिम दिनहरु

Sweta Khadka

भारतको अस्पतालमा श्रीकृष्णको उपचार गराउँदाका दिनहरु श्वेता यसरी सम्झिन्छिन् :

हाम्रो बिहेअघि नै उहाँ बिरामी हुनुहुन्थ्यो । लगातार सुक्खा खोकीले सताइरहेको थियो । डाक्टरले चिसो र एलर्जीको औषधि दिएका थिए । तर थामिएन, बरु बढ्दै गयो । यस्तैमा हामीले बिहे गर्‍यौं ।

बिहेपछि आफैंले ह्याण्डल गर्छु, खानपिन र औषधिमा कडाइ गर्छु भन्ने सोचेकी थिएँ । तर, मैले त्यो मौकै पाइनँ । बिहेको जग्गेमा बस्दा उहाँलाई साह्रो भइसकेको रहेछ, तर केही देखाउनुभएन । हाम्रो सुहागरात साह्रै पीडादायी रुपमा बित्यो । उहाँलाई व्यथाले चापेपछि म र परिवारले रातभरि उहाँलाई रुँगेर बस्यौँ ।

बिहेको पर्सिपल्ट उपचारका लागि उहाँलाई भारत लग्यौँ । म, मेरो जेठाजु र आमाजू गएका थियौँ । उहाँले हामी उपचारका लागि भारत जान लागेको कुरा गोप्य राख्न चाहनुभएको थियो । मिडियासित हनिमुनमा जान लागेको भनिदिनुभयो । बिहेलगत्तै उपचार गर्न जाँदा नानाथरि कुरा हुन्छन् भनेर चिन्तित हुनुहुन्थ्यो ।

भारतको गंगाराम अस्पतालमा भर्ना गर्दा पनि हामीले पहिचान खुलाएनौँ । उहाँलाई अर्कै नाममा भर्ना गरेका थियौँ । सुरुमा चेक गर्दा डाक्टरले निमोनिया भनेका थिए । तर, औषधि चलाइसके पनि स्वास्थ्यमा सुधार भएन । त्यसपछि डाक्टरले क्यान्सरको आशंका गरे । हामीले परीक्षण गर्न आग्रह गर्‍यौं । शंका सही निक्लियो । म आकाशबाट तल खसेझैं भएँ ।

त्यसपछिका दिनहरू अति वेदनामय थिए । उहाँलाई क्यान्सर भएको हामीले अन्तिमसम्म लुकाएका थियौँ । हाम्रो अनुरोधमा डाक्टरले पनि बताएका थिएनन् । परिवारको औषधि व्यवसाय भएकाले उहाँ औषधिको विषयमा जानकार हुनुहुन्थ्यो । त्यसैले शंका नहोस् भनेर डाक्टरले औषधिको बट्टा र स्लाइनको खोल पनि फेरेर दिन्थे ।

डाक्टर, नर्स र हामी सबैले गम्भीर भएर उहाँको अगाडि केही नभएजस्तो अभिनय गरिरहेका थियौँ । यद्यपि, त्यतिवेला म भित्रभित्रै काँपिरहेकी हुन्थेँ । उहाँको आँखामा हेरेर कुरा गर्न सक्दिनथेँ । फिल्ममा गर्ने अभिनयमा भन्दा हजारौँ गुणा कठिन हुँदोरहेछ, वास्तविक जीवनमा गर्ने अभिनय ।

आफ्नो पीडा लुकाउन म हरसम्भव प्रयास गर्थेँ । वार्डभित्र पस्दा मुखमा मास्क लगाउँथेँ । तर, बेला-बेलामा असहृय हुन्थ्यो । बेस्सरी रुन-चिच्याउन मन लाग्थ्यो । भक्कानो फुट्न खोजेपछि मुख छोपेर बाहिर निस्किन्थेँ र मैदानमा गएर पागलजसरी चिच्याउँथेँ । मन्दिरमा गएर एकोहोरो बर्बराउँथेँ ।

म दिन-रात उहाँकै साथमा हुन्थेँ । गल्दै गएपछि उहाँले कहिलेकाहीँ निराशाका कुरा गर्नुहुन्थ्यो । त्यतिबेला मुखले त गाली गर्थेँ, तर आफ्नो आँखामा आँसु भरिएको र गला अवरुद्ध भइसकेको पत्तै हुँदैनथ्यो । अस्पताल बसाइमा मेरो आफ्नै हालत बिग्रेको थियो । खान पटक्कै रुच्दैनथ्यो । क्यान्टिनमा खानेकुरा अर्डर गर्थेँ, तर गाँस निल्न सक्दिनथेँ । राति निद्रा पर्दैनथ्यो । धेरै रातहरू जागा नै बिताएँ ।

पछिल्ला दिनहरूमा उहाँ राम्रोसित बोल्न सक्नुहुन्नथ्यो । ईशाराबाट कुरा गर्नुहुन्थ्यो । ईशाराले नै मलाई ‘तिमी नआत्तिएऊ, नरोऊ’ भन्नुहुन्थ्यो । ‘मलाई अरू केही चिन्ता छैन, खाली तिम्रो चिन्ता छ’ भन्नुहुन्थ्यो । दाइहरूसित पनि मेरै चिन्ता व्यक्त गर्नुहुन्थ्यो । एकचोटि दाइसित ‘श्वेतालाई बहिनी बनाएर राख्नुस् दाइ धर्म हुन्छ’ भन्नुभयो ।

मैले के यस्तो कुरा गरेको भनेर झगडा गरेँ । उहाँले ‘होइन, यत्तिकै भनेको । मलाई तिम्रो मायाले केही हुन दिँदैन’ भन्नुभयो । त्यसदिन म निकै रोएँ ।

क्यान्सर पुष्टि भएपछि डाक्टरले किमो दिन सुरु गरे । पहिलो किमो सफल भयो । तर, जुन दिन दोस्रो किमो दिने भनिएको थियो, मेरो मन बिहानैदेखि निकै काँपिरहेको थियो । उहाँले किन हो ‘आज भेज मात्रै खान्छु है’ भन्नुभयो । किन त्यसो भन्नुभयो, थाहा छैन । मैले उहाँलाई दूध दिन खोज्दा गिलास नै फुटेर पोखियो । मलाई ‘अपशकुन’को आभास भयो । हातगोडा गले ।

किमो दिने बेला हामी सबैजना नर्भस थियौँ । नभन्दै उहाँलाई निकै गाह्रो हुन थाल्यो । सास फेर्न गाह्रो भएर छट्पटाउन थाल्नुभयो । म भित्रभित्रै कहालिएँ । धेरै गाह्रो भएपछि डाक्टरलाई आइसियुमा लैजान अनुरोध गर्यौँ । वार्डबाट आइसियुमा पुर्‍याउँदा म उहाँसँगै थिएँ । उहाँलाई आइसियुभित्र छिराइयो । भित्र छिर्ने वेलामा उहाँले हात उठाउनुभयो र हल्लाएर मलाई बिदाइको इशारा गर्नुभयो । त्यही हो, मैले उहाँलाई अन्तिमपटक जीवित देखेको क्षण ।

दाइहरू रुममा जानुभयो । तर, म जान सकिनँ । आफैँलाई नियन्त्रण गर्न सकिरहेकी थिइनँ । आइसियुको ढोकाभन्दा बाहिर एउटा सानो मन्दिरजस्तो थियो । म त्यहीँ गएर अलाप-बिलाप गर्न थालेँ । भगवानलाई दुबै हात जोडेर बिन्ती बिसाउँदै थिएँ । होस हवास गुम भएजसरी त्यहीँ लडीबुडी गर्न पुगेछु ।

मीनकृष्ण दाइ र डाक्टरहरू बाहिर निस्केर मलाई बोलाउनुभयो । ‘तिमीलाई भाइले बोलाएको छ’ भनेर दाइले उठाउनुभयो । दाइको सहारामा भित्र गएँ । तर, त्यहाँ उहाँलाई पाइनँ । त्यहाँ केवल उहाँको मृत शरीर थियो । दैवले उहाँको प्राणपखेरु टिपेर लगिसकेछ ।

ताजा खबर

- Advertisement -

Related news

33 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्